अपत्यारिलो इन्काउन्टर

आइतबार, २७ साउन २०७५, ०३ : ४२ केपी ढुंगाना
अपत्यारिलो इन्काउन्टर

प्रहरीले अनेक तर्क र दावी पेश गरे पनि ११ वर्षीय बालक निशान खड्काको अपहरणका आरोपी गोपाल तामाङ र अजय तामाङ भक्तपुरको घ्याम्पे डाँडाको जंगलमा प्रहरीको गोलीले मारिनुअघि भक्तपुरको थिमिस्थित डेराबाट नियन्त्रणमा लिएको तथ्य लुक्न सकेन । 

अनुसन्धानको नेतृत्व गरेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारी यो आकस्मिक मुठभेडै भएको दावी गरिरहेका छन् । तर घटनाक्रमले घटना आकस्मिक नभई नियोजित हो भन्ने प्रशस्त आधार र प्रमाण छाडेको छ ।

आइतबार बेलुका ४ बजे काँडाघारीमा रहेको पसलबाट हिँडेका खड्का अपहरित भएको सूचनाको आधारमा खोजीमा खटिएको प्रहरी टोलीले सोमबार बिहान यी दुई आरोपीलाई उनीहरु डेरामा बस्दै आएको श्याम लवटको घरबाट नियन्त्रणमा लिएको दृश्य देख्ने प्रत्यक्षदर्शीको संख्या एक या दुईमा अड्किएको छैन । स्थानीय, उनीहरु डेरामा बस्ने घरको वरिपरीका छिमेकी सबैले दिने सूचना एकै प्रकृतीको देखिन्छ । 

आफूलाई प्रहरी हुँ भन्दै सादा पोशाकमा आएकाहरुले गोपाल र अजयलाई कोठामै नियन्त्रणमा लिएर भित्र थनेर कुटेको र उनीहरुले नै बालकको शव पुरेको स्थान देखाएको, त्यसपछि करिव ९ वजेको समयमा डेराबाट निकालेर महाशाखाको गाडीमा राखेर लगेको तथ्यलाई एकपछि अर्को घटनाक्रमले बलियो बनाउँदै लगेको छ । 

प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको भन्दै छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगले बलियो समिति गठन गर्नुले पनि यो प्रहरीले दावी गरेजस्तो आकस्मिक आइपरेको घटना देखिन्न ।

तर प्रहरी अझै यी दुवैको लोकेसन ट्रेस गर्दै जाँदा पाइलट बाबाको आश्रम नजिक देखिएपछि खोज्दै जाने क्रममा गोली चलाएपछि प्रहरीले प्रतिकारमा गोली चलाएको दाबी गर्न छाडेको छैन ।

‘प्रहरीले नियन्त्रणमा लिएको भनिएको अपहरणमा संलग्न देखिएका दुई जना हैनन् टेकबहादुर तामाङ भन्ने हुन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, ‘उनलाई शंका लागेर नियन्त्रणमा लिएर छानबिन गर्दा संलग्न नदेखिएपछि छाडेका हौं ।’

अपहरणबारे थप सामग्री

घरबेटी लवटको दाबीअनुसार प्रहरी बिहान उनको घरमा पुग्दा दुवै आरोपी कोठाभित्रै थिए । प्रहरीले उनीहरुलाई कुटेपछि यहाँ नकुट केही गरेको भए प्रहरी कार्यालय लग भनेका थिए । प्रहरी यो स्वीकार गर्न तयार छैन ।

‘प्रहरीसँगको मुठभेडमा मारिनेहरु कोठामा भेटिएका हैनन्, यो हल्ला गलत हो,’ एसएसपी सिंहले शुक्रवारसँग भने ।

नियन्त्रणमा लिएपछि फुत्किएर भागे त ?

प्रहरीले ११ वर्षीय किशोरको शव जहाँ फेला पारेको थियो, दुई आरोपी बिहानसम्म त्यहीँ थिए । दिउँसो इन्काउन्टर हुँदा उनीहरु जंगल क्षेत्रमा कसरी पुगे ? उनीहरुले के साधन प्रयोग गरेका थिए, त्यो प्रहरीले खुलाउन सकेको छैन ।

घटनाक्रम अनुसार बिहान दुई आरोपी बस्ने डेरामा पुगेपछि प्रहरी नजिकैको निर्माणाधीन घरमा पुगेर जग नजिकै खन्न थालेको थियो । बालकको शव गाडेको स्थानमा पुगेर जुन सहजताले प्रहरीले खन्यो, त्यसले शव कहाँ छ भन्ने पूर्व जानकारी पाएको देखिन्छ ।

जुन जानकारी ती दुई आरोपीबाहेक अन्यलाई भएको देखिन्न । घटनाबारे जानकारी दिन प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पनि पहिला दुवै आरोपीलाई नियन्त्रणमा लिएको र त्यसपछि उनीहरु फुत्किएर भागेकोबारे उल्लेख नभएकाले यो सम्भावनै देखिन्न ।

यस प्रकरणमा प्रहरीको तर्क पत्याउने हो भने प्रहरीले उनीहरुको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै घ्याम्पे डाँडा पुग्दा गोली चलाएपछि प्रहरीले गोली चलाउँदा दुवै आरोपी मारिएका नै हुन् । 

नेपालमा मोवाइल सेवा प्रदायकले दिने मोवाइल प्रयोगकर्ताको लोकेसन पिन पोइन्ट हुन्न । सिम सम्पर्कमा रहेको टावरको आधारमा सिम सक्रिय रहेको स्थानको पाँच सय मिटर वरपरको लोकेशन मात्र देखाउँछ ।
मोवाइलको आधारमा उनीहरु रहेको स्थान पच्छ्याएर जाँदा आक्रमण भएको प्रहरी तर्क उनीहरुले दावी गरेको विवरणले  काट्छ ।

प्रहरी अधिकारीहरुबाट सार्वजनिक भएको विवरण अनुसार प्रहरीले उनीहरुलाई पच्छ्याएर मुठभेड भएपछि उनीहरुको साथमा मोवाइल र सिम प्रयोग गरिएको थियो जुन बालकको आमासँग फिरौती माग्न प्रयोग भएको थियो । तर मोवाइलको स्विच अफ थियो । मोवाइल बरामद भएपछि प्रहरीले खोलेको थियो ।

मृतक बालकको आफन्तबाट आएको जानकारीमा समेत आइतबार बेलुका ९ वजेपछिको अवस्थामा २ पटक फोन आएको , विहान एक पटक फोन गए पनि नउठेको र त्यसपछि मोवाइलको लोकेशन अफ भएको देखिन्छ । बन्द भएको मोवाइलको लोकेशन बन्द हुनु अगाडि जुन टावरमा बन्द भएको हो त्यही मात्र देखिन्छ । बन्द भएको मोवाइल बोकेर हिडेको आधारमा लोकेशन बदलिदैन ।

यही तथ्य हेर्दा पनि प्रहरीले उनीहरुले बोकेको मोवाइल नम्बरको लोकेशनको आधारमा पच्छ्याउँदै जाँदा उनीहरु पाइलट बाबाको आश्रम नजिक देखिएपछि खोज्न खटिएको दावीमा सत्यता देखिन्न । यो तथ्य इन्काउन्टरमा मारिएका दुबै आरोपीको मोवाइलको कल डिटेल हेर्दा समेत प्रष्ट हुन्छ ।

घटनास्थलमा लडिरहेको शवको प्रकृति र दुई आरोपीमध्ये एकको हातमा देखिएको पेस्तोलको प्रकृतिले समेत घटनालाई स्वाभाविक देखाउँदैन । प्रहरीले उनीहरुको साथबाट पेस्तोल बरामद भएको दावी गरेको छ । तर गोली चलेको हो या हैन खुलाइएको छैन ।

मृतक आरोपीमध्ये एकको हातमा रहेको पेस्तोलको प्रकृतीले ती ब्यक्तिले कसैलाई ताकेर गोली हान्ने प्रयास गर्दागर्दै अन्तबाट गोली चलेर ढल्दाको अवस्था देखिन्न । तस्विरले प्रष्ट देखाउँछ आरोपी ढलिसकेपछि कसैले उनको हातमा लगेर पेस्ताले राखिदिएका हुन् । सो पेस्तोल मृतकको हो या हैन फिंगर प्रिन्टमार्फत समेत एकिन गर्न सकिन्छ ।

आरोपीबाट एक राउण्ड गोली चल्दा प्रहरीको तर्फबाट आधा दर्जन बढी गोली चल्नु र गोली शरिरहेको असंवेदनशिल स्थानको साटो टाउको र छातीमा लाग्नुले समेत गोली प्रहार गर्नुको उदेश्य घाइते बनाएर नियन्त्रणमा लिनु रहेको पुष्टी गर्न सक्दैन ।

अपहरित बालकको हत्या भइसकेपछि नियन्त्रणमा लिइएका आरोपीको आरोप पुष्टी भएको आधारमा यस्तो प्रकृतीको अपराधमा सर्वस्वसहित जन्मकैद हुने सम्भाभावना बलियो थियो । आरोपीको पृष्टभुमीको र क्राइम रेकर्डको आधारमा यीनीहरु न बलियो राजनीतिक संरक्षणमा रहेको देखायो न पेशेवर अपराधी नै ।

यी तथ्य र घटनाक्रमले मुठभेड आकस्मिक नभई नियोजित देखाए पनि किन गरियो त्यो भने खुलेको छैन । जुन प्रकृतीले बालक क्रुर रुपमा मारिए त्यसबाट उत्तेजित भएर प्रहरी आवेगमा आयो या इन्काउन्टर पनि बढ्ने हाइपबाट प्रहरी लोभिए ? यो धुमिल–धुमिलै छ । सरकारी अनुसन्धान समिति या आयोगको निष्पक्ष छानविनले मात्र अब इन्काउन्टरको दृष्य प्रष्ट्याउँन सक्छ ।

‘डेराबाटै नियन्त्रणमा लिएर गएको दाबी गर्ने प्रत्यक्षदर्शी एकपछि अर्को आउनुले यो अप्रेसनमा कहीँ न कहीँ केही गडबड छ भन्ने त देखिन्छ,’ अपहरण अनुसन्धानबारे जानकार एक प्रहरी अधिकारीले भने, ‘सबैले देख्ने गरी नियन्त्रणमा लिइएको आरोपीलाई जंगलमा लगेर फेक इन्काउन्टर गर्नुपर्ने कारण पनि देखिन्न । गरेका हुन् भने मुर्खतापूर्ण हो । दिमाग घुमाउने घटना भयो ।’

विवादको निरन्तरता

( दिनेश अधिकारी चरीकाे इन्काउन्टर भएकाे स्थान)

शंकास्पद देखिएको यो पहिलो इन्काउन्टर पनि होइन ।

आरोपी या शंका लागेका ब्यक्तिलाई पक्राउको प्रयास गर्दा आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा मारिएका यस अगाडिका घटनामा पनि प्रश्न उठेकै थियो । २०७१ बाट काठमाडौंमा शुरु भएको हरेक इन्काउन्टरको घटना विवादमा तानिदै आएको छ ।

दिनेश अधिकारी चरीको इन्काउन्टर होस् या कुमार श्रेष्ठ घैँटेको, सबैमा पच्छ्याउँदै पक्राउको प्रयास गर्दा प्रहरीमाथि गोली प्रहार भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा उनीहरु मारिएको दावी आएको थियो । तर पुष्टिका बलिया आधार थिएन । केही मुठभेडका प्रत्यक्षदर्शी समेत थिए जसले घटनापछि के भएको हो खुलाएका थिए । 

गैर न्यायिक हत्या हो भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन नपरेका पनि हैनन् । प्रारम्भमा आयोगले घटनाप्रति चासो समेत देखाउने गरेको छ । छानविन समिति समेत गठन गर्छ तर बिस्तारै घटना सेलाउँदै गएसँगै आयोग पनि सेलाउँछ र रिपोर्ट पनि बेपत्ता हुन्छ । 

२०७१ मा मारिएका चरी र त्यसपछि लगत्तै मारिएका कुमार घैँटेबारे आयोगमा परेको निवेदनबारे आयोग अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । 

किन बढ्यो आत्मबल
आपराधिक पृष्ठभूमि भएकाहरु मारिदा समाज प्रहरीको पक्षमा उभियो, गैर न्यायिक हत्या भन्दै बोल्नेहरु नेता गुण्डाको संरक्षकको रुपमा बदनाम हुन थाले, र इन्काउन्टरको समाचार सम्प्रेशणमा सञ्चारमाध्यम समेत प्रष्ट हुन सकेनन् । इन्काउन्टरको सत्यतामाथि प्रश्न उठाउने सञ्चारकर्मी  तारोमा पर्न थाले । प्रहरीको मनोवल बढ्दै गयो । गोप्य अप्रेशन खुल्लमखुल्ला हुन थाल्यो । 

मुठभेड भनेको आकस्मिक हो न कि पूर्व घोषित । तर प्रहरीले पत्रकार सम्मेलन गरेर इन्काउन्टर गर्छु भनेर घोषणै गर्न थाले । यसैले हत्यामा उनीहरुको बढ्दो मनोवल देखाएकै थियो ।

०७१ पछिको घटनाक्रम हेर्ने हो भने एकपछि अर्को घटनामा प्रहरी खुल्लमखुल्ला गोली चलाउन प्रोत्साहित भएको देखिन्छ । चरी मारिँदा प्रत्यक्षदर्शी नै नहुने गरी एकान्त र सुरक्षित स्थानको चयन भएको थियो । उनी फरार अभियुक्त रहेकाले काठमाडौं आएको सूचनाको आधारमा पच्छ्एको दावी बलियो देखिएको थियो ।

त्यसपछि मारिएका कुमार घैँटेलाई उनकै घर अगाडि बस्तीकाविच, दिउसै गोली हानिएको थियो । घटनाका प्रत्यक्षदर्शी टन्नै थिए । बचाउँन जाँदा स्थानीय २ युवा समेत प्रहरीको गोली लागेर घाइते भएका थिए । घैँटे राजनीतिक संरक्षणमा रहेका र पटके अपराधको रेकर्ड रहेकाले उनको इन्काउन्टरमा समाजको समर्थन प्रहरीले नै पाउथ्यो र पायो पनि ।

गोवामा रहेका मनोज पुन मध्यरात रुपन्देहीमा अपराधको योजना सहित आउँदा जम्काभेट भएर गोली चल्दा मारिएको तर्कमा पनि दम भने थिएन । गम्भिर अपराधमा मुछिएको र पटके अपराधी भएकाले पुन सक्कली मुठभेडमा मारिए या नक्कली बहस अगाडि बढेन ।

तर ललितपुरमा मारिएका प्रविणमाथि गोली हान्नुको कारण नै खुलेन । घरबाट पर्खाल नाघेर निस्किएका उनी त्यत्ति ठुलो आपराधिक पृष्ठभुमी भएका आरोपी या अभियुक्त पनि थिएनन् । पटके अपराधको रेकर्ड थिएन । यो घटनाबारे प्रश्न उठ्यो तर सेलायो । 

बालक अपहरणका दुबै आरोपीको आपराधिक पृष्ठभुमी र प्रहरीको इन्काउन्टर शैलीले यो पटक भने राम्रै बहस निम्त्यायो । सञ्चारमाध्यम खुलेर आए र मानव अधिकार आयोग यस अगाडिका घटना भन्दा केही गम्भिर समेत देखिएको छ । 

मुम्बइया पथ
दाउद इब्राहिम, छोटा राजन लगायतका ग्याङले हैरान बनाएपछि घुमाउरो बाटोबाट सफाया गर्न २८ वर्ष अगाडि भारतको क्राइम सिटी मुम्बईमा क्राइम ब्रान्चले इन्काउन्टर टोली बनाएर परिचालन गरेको थियो । 
मुम्बई क्राइम ब्रान्चका प्रहरी अधिकारी प्रदीप शर्मा, दया नायक, प्रफुल भोसले, सचिन वाजे, विजय सालस्करहरु इन्काउन्टर हिरोको रुपमा उदाए । शर्माले ३१२ जनाको इन्काउन्टर गरे ।

नायकले ८३, भोसलेले ७७, वाजेको नाममा ६३ जना र सालस्करको नाममा ६१ जनाको इन्काउन्टरको रेकर्ड छ । यो क्रम मुम्बईबाट चेन्नई, कलकत्ता, गुजरात हुँदै उत्तर प्रदेश र बिहारसम्म विस्तार भइसक्यो अहिले ।

नेपालमा एक प्रहरी अधिकारीको नाममा यत्ति धेरै इन्काउन्टरको रेकर्ड भने छैन । पुष्कर कार्की, सर्वेन्द्र खनाल, दिनेश अमात्यको कार्यकालमा १–१ इन्काउन्टर भयो काठमाडौंमा । सोमबारको घटनापछि धीरज प्रताप सिंह इन्काउन्टर गर्ने प्रहरी अधिकारीको सूचीमा चढे । 

अपराधीको सफायाको लक्ष्य प्रारम्भमा प्रभावकारी भए पनि पछि एक समूहसँग पैसा लिएर अर्को समूहको सदस्यको इन्काउन्टर गर्ने, राजनीतिक प्रतिशोधमा निर्दोषलाई अपराधी भन्दै मार्ने क्रम बढेको थियो भारतमा । इन्काउन्टर स्पेशलिस्टमाथि अनुसन्धान हुँदा केही दोषीसमेत देखिएका थिए उता ।

प्रहरीको दबंग शैलीको चरित्र भएको फिल्म रिलिजहुँदा त नेपालमा त्यसको प्रभाव पर्छ भने भारतमा भएको इन्काउन्टरको शैली र त्यसको प्रभाव नेपालमा नपर्ने कुरै थिएन ।

नेपालमा गम्भिर अपराधका पटके अभियुक्त जति पक्राउ गरे पनि सेटिङमा सहजै उम्कन थालेपछि काठमाडौंमा पनि यसको अभ्यासमाथि छलफल सुरु भएको थियो । केहीमाथि अभ्यास पनि भयो तर भाग्यले बाँचे । 

ठेकेदारलाई धम्क्याएर पैसा उठाएर हैरान बनाए पनि पक्राउ नै गर्न नसकेपछि पहिला रमेश बाहुनको इन्काउन्टरको योजना बनेको थियो । ललितपुरमा मीनकृष्ण महर्जनको हत्या प्रयासमा फरार भएर भारतमा रहेका उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएर इन्काउन्टरको तयारी गर्दागर्दै पक्राउ परेको पोल खुलेपछि उनी जोगिएका थिए । त्यसपछि फरार गुण्डा छान्दा दिनेश अधिकारी चरी छनोटमा परे र मारिए पनि । त्यसपछि इन्काउन्टरको क्रमले निरन्तरता पाइरह्यो ।
प्रमुख फेरिएपिच्छे इन्काउन्टर

मनोज पुनको इन्काउन्टरबाहेक अन्यमा महानगरीय प्रहरी अपराध महशाखाको टोली नै संलग्न छ । २०७१ पछि महाशाखामा जो–जो प्रमुख भएर आए, उनीहरुको पहिलो रोजाई इन्काउन्टर नै हुन थाल्यो । चरी इन्काउन्टरमा महाशाखा प्रमुख रहेका पुष्कर कार्कीको सरुवा पछि सर्वेन्द्र खनाल आए । उनको कार्यकालमा कुमार घैँटे मारिए । खनालपछि आएका दिनेश अमात्यको कार्यकालमा ललितपुरमा प्रवीण मारिए । दिवेश लोहनीको कार्यकालमा गोली चल्यो तर कोही मारिएनन् । ३३ किलो सुनमा लोहनी तानिएपछि महाशाखामा सिंह आएपछि अपहरणका दुई आरोपी मारिए ।

असली इन्काउन्टर
इन्काउन्टर एकतर्फी मात्र हुँदैन । यो जम्काभेटमा मात्र निम्तन्छ । पक्राउ गर्ने प्रयास पहिलो हो । दोस्रोमा घाइते बनाएर पक्राउ गर्ने हो । यस्तो अवस्थामा कहिलेकाहीँ व्यक्तिको ज्यानसमेत जान सक्छ । यसलाई प्रहरीले आत्मरक्षाका लागि हतियार प्रहार गरेको मानिन्छ । यसलाई कानुनले अधिकार दिएको छ ।

तर कहिलेकाहीँ हिरो हुने लोभमा, आपराधिक समूह बीचको प्रतिस्पर्धामा एक समूहलाई कमजोर बनाउने रणनीति, अपराधीको मनोबल घटाउन, कमजोर न्याय प्रशासन र बलियो राजनीतिक संरक्षणमा रहेका अपराधीको सफाया, आर्थिक प्रलोभन र सन्काहापनले पनि नक्कली इन्काउन्टर हुन सक्छन् । 

२०७१ देखि भएका इन्काउन्टरमा जो मारिएका छन्, ती कुनै न कुनै अपराधमा संलग्न थ्रिए । बलियो राजनीतिक संरक्षणमा समेत थिए । ललितपुर र काँडाघारीको दुई वटा इन्काउन्टरमा मारिएकाहरु अपराधीको सूचीमा थिएनन् । दुवै घटनामा नयाँ व्यक्ति इन्काउन्टरमा परेका थिए ।

पछिल्ला इन्काउन्टरलाई नजिकबाट हेरिरहेका एक पूर्व प्रहरी अधिकारी केहीको इन्काउन्टर राजनीतिक जालो तोड्ने र मनोबलसमेत उच्च भएका संगठित अपराधमा सक्रिय अपराधीको मनोवल गिराउन गरेको देखिएको छ । केही भने हिरोइज्मको लोभ देखिन्छ ।

‘चरी, घैँटे र पुनको इन्काउन्टर नक्कली नै भए पनि त्यसको मनसाय गलत देखिन्न,’ ती अधिकारीले भने, ‘तर ललितपुरमा भएको र अहिले भक्तपुरको जंगलमा भएको इन्काउन्टरको मनसाय के हो भन्ने नै देखिएन ।’

Leave A Comment